• २०८२ असोज ३ गते शुक्रवार
TRENDING

क्लब, स्थानीय र शिक्षकको पहलमा बाटो मर्मत कार्य सम्पन्न

खिमराज स्वर्णकार
सल्यान प्रेस डट्कम

भाद्र ३,सल्यान । पछिल्लो समय श्रमदानमार्फत विभिन्न सामाजिक कार्य गर्ने प्रवृत्ति बढ्दो छ। त्यसै क्रममा सल्यानको दार्मा गाउँपालिका–५ जलेखर्क हुँदै ढाकाडामकोट जाने बाटो वर्षाले अवरुद्ध भएपछि स्थानीयले आफ्नै पहलमा मर्मत कार्य सम्पन्न गरेका छन्।

उज्यालो युवा क्लबको अगुवाइमा गरिएको उक्त पहलमा स्थानीयवासी र शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको क्लबका सचिव घनराज खड्काले बताए। विद्यार्थीहरूलाई विद्यालय जान कठिन भएको कारणले पनि तत्काल मर्मत गर्नुपर्ने आवश्यकता देखिएको थियो।

दारिगौरामा हरेक वर्ष वर्षाको समयमा बाटो अबरुद्ध हुने गरेको भए पनि यसपटक पनि स्थानीय सरकारको पहल न्यून रहेको स्थानीयहरूले बताएका छन्। हिजो मात्रै सरकारले उक्त सडक खण्डको अनुगमन गरेको भए पनि ठोस कदम चालिएको थिएन।

स्थानिय युवा विरेन्द्र प्रकाश खड्काले मर्मत कार्यमा सहभागिता जनाउँदै क्लबलाई धन्यवाद दिएका छन्। उनले भने, “अहिले वर्षाको समय छ, केवल सरकारको भर पर्नु हुँदैन। नागरिक आफैं मैदानमा उत्रनुपर्छ। क्लबले मात्र सबै काम सम्भव छैन, त्यसैले स्थानीयको साथ र हौसला अपरिहार्य छ।”

सडक मर्मत कार्यमा क्लबका सचिव घनराज खड्का, स्थानीय विरेन्द्र प्रकाश खड्का र तिलक खड्काको नेतृत्वमा शिक्षक र स्थानीय मिलेर नौ जना सहभागी भएका थिए। सहभागीमध्ये स्थानीय पाँच जना— विरेन्द्र प्रकाश खड्का, तिलक खड्का, डिल्ली प्रसाद खड्का, जीवन केसी र सुशील केसी रहेका थिए।

डिल्ली प्रसाद खड्काले विगत दुई दिनदेखि सबैलाई सहभागिताका लागि आग्रह गरे पनि प्रारम्भमा खासै चासो नदेखाएको तर अन्ततः केही स्थानीय उपस्थित भएर काम सफल भएको बताएका छन्।

यस्तै, श्री जनकल्याण आधारभूत विद्यालय, भालुमारेका प्राध्यापक भोपाल खड्का, सहप्राध्यापक राम प्रकाश खड्का र शिक्षक रोशन खड्काले दिउँसो १ बजे खाजाको समयमा मर्मत कार्यमा श्रमदान गरेका थिए। विद्यालय नजिकै भएकाले उनीहरूलाई यसमा सहभागी हुन सहज भएको थियो।

प्रतिक्रिया लेख्नुहोस