• २०८२ असार ३ गते मङ्गलवार
TRENDING

सिकेको सिपलाई आम्दानिको बाटोमा लैजाने महिला दिदिबहिनीहरुको अठोट

खिमराज स्वर्णकार

सल्यान प्रेस डट्कम

जेठ १३, सल्यान ।सल्यानका महिलाहरुले आफुले सिकेको सीपलाइ आम्दानीको बाटोमा लैजाने भन्दै आत्मविश्वास बढेको बताएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ दारिमज्युलामा एक महिने एड्भान्स कटाइ सिलाइ सम्बन्धि सीप विकास सम्बन्धि तालिम लिएपछी महिलाहरुले आफुले सिकेको सीप र सिलाइ मेसिनलाइ आम्दानीको माध्यम बनाउने अठोट गरेका हुन । यद्यपी थप दक्षताका र व्यवसाय संचालनका लागि सरकारी तवरबाट सहयोगको अपेक्षा छ ।

मंगलबार आयोजित तालिम समापनमा बोल्दै सहभागी रमा डांगीले तालिमबाट जिवनमा केही गर्न सकिन्छ भन्ने हिम्मत आएको बताउदै सिकेको सिपलाइ व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाइन ।

छत्रेश्वरी गाउँपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि सञ्चालित एडभान्स कटाइ सिलाइ सीप विकास तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा सहभागी १३ जना महिलाहरूले सिलाइ मेसिनको दक्ष प्रयोगदेखि लिएर गला, बाउला, पाइपिङ, डिजाइन कुर्ता, पटेला सुरुवाल, चौबन्दी चोली, जेन्स स्कुल सर्टपाइन्ट, म्याक्सी, पाइजामा आदि सिलाउने सीप सिकेका थिए । सहभागीहरूले तालिमलाई आफूहरूको जीवनमा परिवर्तन ल्याउने अवसरका रूपमा लिएको बताएका छन् ।

समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आत्मनिर्भर बनाउनु र सिपमार्फत जीविकोपार्जनमा सहयोग पुर्‍याउनु पालिकाको लक्ष्य भएको बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलाहरू सक्षम भएमा त्यसको प्रत्यक्ष प्रभाव परिवार, समाज र समग्र गाउँपालिकामा देखिने बताउँदै कटाइ सिलाइ सीपलाई प्राथमिकता दिएर व्यवसायिक रूपमा अघि बढ्न सुझाव दिइन ।

कार्यक्रममा कार्यपालिका सदस्य पवित्रा डाँगी, वडा सदस्य जयकली विक, उद्यम विकास सहजकर्ता निमा बस्नेत, प्रशिक्षक बसन्ती खड्का लगायतले सिपको महत्वबारे चर्चा गर्दै तालिम लिएका महिलाहरुलाइ हौसला प्रदान गरेका थिए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले तालिम संचालन गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस