माघ १०, सल्यान । विपद्सँग जुध्नका लागि नागरिक जिम्मेवार बन्नुपर्ने कुरा सल्यानमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सरोकारवालाहरूले सल्यानजस्तो सल्लैसल्लाको वन क्षेत्र भएको ठाउँमा आगलागीको उच्च जोखिम रहेको भन्दै जोखिम रोकथामका लागि विभिन्न पहल गर्नुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति प्रमुख वेलाराम रावलले स्थानीय सरकार र सामुदायिक वनका पदाधिकारीबीचको समस्यालाई समाधान गर्दै आगलागी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन्। उनले वनको राजस्व विवादले स्थानीय सरकारहरू वन संरक्षणमा गम्भीर नभएको भन्दै उनीहरूलाई पनि जिम्मेवार बनाउनुपर्ने धारणा राखे।
प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले राहतका कार्यक्रमहरूको जानकारी दिँदै सबै संघसंस्थालाई विपद्मा एक भएर काम गर्न अनुरोध गरिन् ।
त्यस्तै जिल्ला वन कार्यालय प्रमुख टेकबहादुर रावलले सामुदायिक वनहरूलाई आगलागी नियन्त्रणमा जिम्मेवार बनाउन थालिएको बताए।
बैठकले गर्मी मौसममा हुने डढेलो र आगलागीबाट हुने क्षति रोक्न विभिन्न निर्णय गरेको छ। सामुदायिक वन उपभोक्ता समूह र वडा तहका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने, आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र डिभिजन वन कार्यालयको सहयोगमा नमुना अभ्यास सञ्चालन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै प्रचारप्रसारलाई व्यापक बनाउन संचारमाध्यममार्फत जनचेतना फैलाउने र पालिकाहरूले रिचार्ज पोखरी निर्माणका लागि बजेट व्यवस्था गर्ने जस्ता निर्णय गरिएको छ ।
साथै जिल्लामा विपदका समयमा आवश्यक पर्ने उद्धार सामाग्रीहरु न्यून रहेकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गर्ने निर्णय पनि भएको छ ।
बैठकको सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले गरेका थिए ।