मंसिर २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् ।
शाहीले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।
माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’ शाहीले भनेका छन्, ‘कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।
उनले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेट पनि गरेका थिए ।
लामिछानेलाई भेटेर निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए ।
सांसद शाहीले मानवअधिकारकर्मीसहित प्रहरी हिरासतमा पुगेको दाबी गरेका छन् ।
प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुने उल्लेख गर्दै उनी थप्छन्, ‘कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन । यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको ठहरिनेछ ।’
मानव अधिकारको उल्लंघन गर्न नहुने उनको आग्रह छ ।
उनी लेख्छन्, ‘अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो ।